आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, २६ चैत – प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । आज ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने गर्दछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

खास गरी काठमाडौँ उपत्यकाको तीन सहरमा भव्य रूपमा घोडेजात्रा मनाइने गरिन्छ । जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायम छ । यो चाड तीन दिनको भए पनि अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खटहरू सहरमा परिक्रमा गराई छ वटा गल्लीबाट ल्याई असन चोकमा सात वटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको पनि भनिन्छ भन्ने किंवदन्ती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *