काठमाडौं, २६ चैत – संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी छ ।
‘११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किन्छ र १२ बजेदेखि सभा सुरु हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘३० औं हजारलाई सभामा सहभागी गराउने गरी तयारी गरिएको छ ।’
सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने उनले बताए । अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन समेत गरेका थिए । राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिने पार्टी प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो ।
पार्टी प्रवक्ता श्रेष्ठले यो सभा शान्तिपूर्ण र मर्यादित हुने बताए । त्यसका लागि सयौँ स्वयंसेवक परिचालन गरिने उनले बताए । उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि त्रिभुवन विश्वविद्यालयको गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ । नयाँबसपार्क र सितापाईला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।