काठमाडौं, – नवलपुर जिल्लाको दुम्कीबासस्थित पूर्व-पश्चिम राजमार्ग आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि नारायणघाट-बुटवल सडक खण्डको सवारी आवागमन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलामा निर्माणाधीन पुल भत्किएपछि वैकल्पिक रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाएपछि ठूला तथा मालवाहक सवारीसाधन होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएका छन् ।
यात्रुवाहक र साना सवारीसाधनलाई भने वैकल्पिक मार्ग प्रयोग गराएर गन्तव्यतर्फ पठाइएको छ। उनले पूर्णरूपमा सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने जानकारी दिएका छन् । यस क्षेत्रको मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू र सवारी चालकहरू कठिनाइमा परेका छन् । सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन् ।