आज २५६९औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

by cityhalkhabar
7 views

काठमाडौं,   – आज २५६९औं बुद्ध जयन्ती देशभर श्रद्धा र भक्तिभावसाथ मनाइँदैछ । शान्ति, करुणा र अहिंसाको सन्देश बोकेको यस महत्वपूर्ण दिनको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । विशेषतः सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यस वर्षको बुद्ध जयन्ती विशेष तयारीसहित भव्य रूपमा मनाइँदैछ ।

लुम्बिनी विकास कोषले आयोजन गरेका विभिन्न कार्यक्रमहरूको संयोजनमा आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍याली सम्पन्न हुँदैछ । मूल समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार समिति संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।

लुम्बिनीको मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी, बौद्ध विहार तथा स्तूपाहरूलाई आकर्षक ढंगले सजाइएको छ । रंगीबिरंगी बत्तीहरूले झलमल परेको लुम्बिनी क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ, जसले गर्दा सम्पूर्ण क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

यस वर्षको बुद्ध जयन्ती कार्यक्रमले विश्वमा जारी अशान्ति, द्वन्द्व र युद्धलाई शान्तिको बाटोमा डोहोर्याउने सन्देश दिने उद्देश्य लिएको आयोजकले जनाएका छन् । ‘बुद्धको शिक्षाले आजको अस्थिर विश्वलाई संयम, सहिष्णुता र करुणाको बाटोमा लैजान प्रेरणा दिन सकोस्,’ आयोजकको भनाइ छ।

बुद्ध जयन्ती मनाउन देशैभित्रका विभिन्न भागहरू र विदेशबाट हजारौं श्रद्धालु भक्तजनहरू लुम्बिनी आइपुगेका छन् । उनीहरूको सुरक्षाका लागि विशेष सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘श्रद्धालुहरूले शान्तिपूर्ण वातावरणमा कार्यक्रम मनाउन सकून् भन्ने हेतुले सम्पूर्ण तयारी पूरा गरिएको छ,’ भट्टराईले भने ।

यसपटक बुद्ध जयन्तीको मुख्य समारोह लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने भएको छ । कोषाध्यक्ष भट्टराईका अनुसार कार्यक्रमका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।