काठमाडौं, ३१ बैशाख – लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरूङको राजीनामा पछाडि नयाँ तथ्य बाहिर आएको छ। जनमत पार्टीकी सांसद गुरूङले केही समयअघि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पदत्याग गरेकी थिइन्। तर, पछिल्लो खुलासाले उनी दुई महिना अघि नै बेलायत पलायन भइसकेको देखिएको छ।
उनले स्वदेशमै रहँदा असमर्थ भएर राजीनामा दिएको देखाए पनि, वास्तविकता भने देश छोडेर स्थायी रूपमा बेलायत बस्न गएकी हुन्। उनले बेलायतबाटै हस्तलिखित राजीनामा पठाएकी थिइन्। गुरूङ निकट स्रोतका अनुसार उनी अब बेलायतमै रहने मनसायमा छिन्।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार गुरूङ यसअघि पनि बेलायत आउजाउ गर्दै आएकी थिइन्। पछिल्ला दुई महिनादेखि उनी पार्टी नेतृत्व तथा प्रदेशसभा सदस्यहरूसँग सम्पर्कमा नरहेको गुप्ताले बताए।
भैरहवा–स्थित सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङको राजीनामा पत्र उनका पति कैलाश गुरूङले सञ्चारकर्मीलाई मेसेन्जरमार्फत पठाएका थिए। तर प्रदेशसभा सचिवालयले भने उक्त राजीनामा पत्र औपचारिक रूपमा प्राप्त नभएको जनाएको छ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार गीता गुरूङको राजीनामा अहिलेसम्म सचिवालयमा नपुगेको छ। यसले सांसदको औपचारिक राजीनामा प्रक्रिया अझ अधुरै रहेको देखिन्छ।
गुरूङका एक आफन्तका अनुसार उनी अब राजनीतिमा फर्किने सम्भावना छैन। “उहाँ बेलायत गइसक्नु भएको छ, अब उतै बस्ने योजना बनाउनु भएको छ,” ती आफन्तले बताएका छन्।