कपिलवस्तुमा बुटवलतर्फ आउँदै गरेको कारले ठक्कर दिँदा २ महिलाको मृत्यु

by cityhalkhabar
70 views

बुटवल, २ जेठ – कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नं १ वसन्तपुरमा कारको ठक्करबाट शुक्रबार विहानै दुई महिलाले ज्यान गुमाएका छन् । बिहान साढे ४ बजे नै उठेर मर्निङवाक निस्केका उनीहरुलाई बा ए बी ९५९९ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

विहानको करिब पौने ६ बजे कारले ठक्कर दिएपछि उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुबै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन् । जिल्ला अस्पताल तौलिहवा लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिएका छन् ।

‘७ जनाको परिवार लिएर कुल पूजामा गएर फर्किएको गाडी रहेछ, वसन्तपुरमा मर्निङवाकमा हिँडेका दुई महिलाले बाटो काट्ने क्रममा अलमलिएका कारण ठक्कर दिएको भन्ने छ, घटनामा दुई महिलाको मृत्यु भएको छ’ उनले भने ‘स्पिडमा आएको कार सडक पार गर्दै गरेका महिला बीच लेनमा पुगेर पुनः फर्केपछि यस्तो भएको भन्ने चालकको भनाइ छ, घटनाको अनुसन्धान गर्दैछौं, मृतकको शव तौलिहवा पठाइएको छ, चालक र गाडीलाई गोरुसिङ्गेमै राखिएको छ ।’

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।