काठमाडौं, ७ जेठ – नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले आगामी असार मसान्तसम्म मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले असार मसान्तसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
समिति सदस्य एवम् केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले क्रियाशील सदस्यता नवीकरण आगामी असार मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको जानकारी दिए । ‘आगामी असार मसान्तसम्म नवीकरण गरी सक्ने निर्णय भएको छ,’ उनले खबरबहसँग भने, ‘नवीकरण नगरेमा सिस्टम अटोलक हुन्छ हाम्रो केन्द्रमा ।’
केन्द्रीय सदस्य रसाइलीले ७७ वटै जिल्लामा प्राविधिक राखेर नवीकरणको तथ्यांक प्रविष्ट गर्ने काम भइरहेको पनि बताए । समितिले आगामी साउन १ गतेबाट नयाँ सदस्यता वितरण अघि बढाउने निर्णय गरेको छ ।
‘साउन १ गतेबाट हामी समावेशी, दलित, महिला, मधेशीलाई महत्वपूर्ण प्राथमिकता दिएर स्थानीय, प्रदेश र संघको निर्वाचनमा सम्बन्धित वडा, क्षेत्र, पालिकामा पाएको मतका आधारमा उच्च प्राथमिकताका साथ नयाँ क्रियाशील सदस्यता बाँड्छौँ,’ रसाइलीले भने ।
विभिन्न १० जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा विवाद देखिएको छ । महामन्त्री थापा संयोजकत्वको समितिले समस्या देखिएका स्थानमा आफैँ पुगेर विवाद समाधानको तयारी गरेको छ ।
जिल्लामा विवाद समाधान नभए केन्द्रमा ल्याएर महामन्त्री थापाको रोहबरमा थप काम गर्ने, त्यसबाट पनि सहमति नजुटे शीर्ष तहका नेताहरूसँगको छलफलमा राजनीतिक सहमति खोज्ने समितिले तयारी गरेको छ ।
‘१० वटा जिल्लाका केही ठाउँमा सदस्यता विवाद भएकाले पहिलो चरणमा सदस्यता व्यवस्थापन समितिका हामी सदस्यहरू नै कार्यक्षेत्रमा दुवै पक्षलाई राखेर छलफल गर्छौँ । त्यहाँ हुने कुरा त्यहीँ गर्छौँँ,’ नेता रसाइलीले भने, ‘सहमति नभए केन्द्रमा ल्याएर महामन्त्रीको रोहबरमा थप काम गर्छौँ । त्यो नभए पार्टीको उच्च नेतृत्वसँग बसेर राजनीतिक सहमतिमार्फत् टुंग्याउने निर्णय गरेका छौँ ।’
महामन्त्री थापा नेतृत्वको समितिले सुरूमा गत चैत मसान्तलाई ‘डेड लाइन’ तोकेर पार्टीका विभिन्न तहका ६ वटा कार्यसमितिलाई क्रियाशील सदस्यता नवीकरण सक्न निर्देशन दिएको थियो । तोकिएको समयावधिभित्र नवीकरण हुने सम्भावना नदेखिएपछि समितिले वैशाख १५ सम्मलाई थप गरेको थियो ।
१५औँ महाधिवेशनलाई क्रियाशील सदस्यता विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापाको संयोजकत्वमा गठित ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ मा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।