मासु पकाउँदा तेल भनेर डिजेलको ‘भुटुन’ राखेपछि…

by cityhalkhabar
2 views

काठमाडौं, – पाककला सम्बन्धी सामान्य लापरवाहीले बुधवार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित कमानेमा भीषण आगलागीको घटना घटेको छ। पेट्रोलियम पदार्थ डिजेललाई खान पकाउने तेल ठानी कराइमा हाल्दा सल्किएको आगोले दुईजनालाई घाइते बनाएको छ  ।

पर्सा, वीरगञ्ज–३० घर भई हाल हेटौंडामा डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश डिजेल प्रयोग गरेकी थिइ न्। कराइमा डिजेल हालिएलगत्तै एक्कासी आगो सल्किँदा उनी गम्भीर घाइते भएकी छन् । आगोले उनको अनुहार, हात, पिठिउँ र खुट्टाको भाग जलेको मकवानपुर प्रहरीले जनाएको छ। उनीसँगै डेरामा बस्ने भारत बिहार राज्यको मोतिहारी जिल्लाकी २५ वर्षीया अफ्रिदा खातुन पनि सामान्य घाइते भएकी छिन् ।

घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । आगलागीका कारण घरमा रहेका काठका ढोका, धान, चामल, लत्ताकपडा जलेर करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।