कांग्रेसले भन्यो- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष, संलग्नलाई कारबाही हुनुपर्छ

by cityhalkhabar
10 views

काठमाडौँ , १२ जेष्ठ  –  नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा पार्टीका नेता तथा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री लेखक उक्त अनियमिततामा संलग्न नभएको र जबरजस्ती जोडेर अफवाह फैलाइएको ठहर गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

प्रवक्ता महतले मन्त्री लेखकलाई यस प्रकरणमा नियोजित रूपमा मुछ्ने प्रयास भएको र यसबारे अफवाह फैलाइएको समेत बताए । पार्टीले यस्ता निराधार आरोपको खण्डन गर्दै सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएको छ । यस प्रकरणमा दोषी देखिएका जुनसुकै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा कांग्रेस स्पष्ट रहेको पनि उनले उल्लेख गरे ।

उनले शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको बताए । नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति आएको उनको भनाई छ ।