आन्दोलन नरोकिएसम्म राप्रपा नेताहरुले पीएसओ नपाउने

by cityhalkhabar
1 views

काठमाडौं, – गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरू, उनीहरूले राजतन्त्रको पक्षमा गरिरहेको आन्दोलन रोकिएसँगै पुनः खटाइने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू सरकारले किन फिर्ता बोलाएको भनी प्रश्न उठाएका थिए । सरकारले केही दिनअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका केही नेताहरूको व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो ।

उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले हाल भइरहेका आन्दोलनहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने भएकाले व्यक्तिगत सुरक्षामा खटिएका केही सुरक्षाकर्मीलाई अस्थायी रूपमा आन्दोलनको सुरक्षामा खटाइएको र आन्दोलनका गतिविधिहरू रोकिएलगत्तै उनीहरूलाई पुनः पुरानै जिम्मेवारीमा फर्काइने बताए । गृहमन्त्री लेखकले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा रहेको स्मरण गराउँदै गणतन्त्र, संघीयता र लोकतन्त्रजस्ता संविधानका आधारभूत उपलब्धिहरूबाट पछि हट्ने कुनै पनि प्रयासले मुलुकलाई फेरि अन्धकारतर्फ धकेल्ने चेतावनी दिए ।

उनले संविधानका आधारभूत व्यवस्था उल्टाउने वा संविधान नै फाल्ने जस्ता गतिविधिमा कोही पनि नलाग्न आग्रह गरे । मन्त्री लेखकले भने, ‘अहिले पूर्वराजावादी संस्थाहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र संस्थाहरूले गरिरहेका गतिविधिहरूबारे प्रश्न उठेको छ । मेरो आग्रह के हो भने, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौं । यो संविधान हाम्रा पूर्वजहरूको धेरै त्याग, तपस्या, बलिदान र शहादत तथा हाम्रो पुस्ताको ठूलो लगानी र मेहनतबाट प्राप्त भएको हो । यो गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिताबाट पछि फर्किने कुराले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ ।’

उनले थपे, ‘संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौं । सरकारको धारणा यही हो – गणतन्त्र फाल्न मिल्दैन, यो संविधान फाल्न मिल्दैन । त्यस्ता कुनै पनि प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ । जहाँसम्म सुरक्षाकर्मी फिर्ता गरेको विषय छ, यहाँहरूले गर्ने आन्दोलन र कार्यक्रमहरूमा सुरक्षा थप आवश्यक परेकाले ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन खटाइएको हो । यी गतिविधिहरू नभएमा सुरक्षाकर्मी पुनःस्थापित गरिन्छ ।’