अवरुद्ध दोहा उडान पुनः सञ्चालन, अलपत्र यात्रुलाई राहत

by cityhalkhabar
7 views

काठमाडौं, – इरान-इजरायल तनावका कारण सोमबार राति रद्द भएको नेपाल वायुसेवा निगमको दोहा उडान आज मध्याह्न १२ बजेदेखि पुनः सञ्चालन हुने भएको छ । मध्यपूर्वको हवाई मार्ग पुनः खुला भई अवस्था सामान्य बन्दै गएपछि निगमले उडानको नयाँ तालिका सार्वजनिक गरेको हो ।

यो निर्णयसँगै सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका सयौं यात्रुले राहत महसुस गरेका छन् । निगमका अनुसार, रद्द भएको उडानका यात्रुहरूलाई नै प्राथमिकतामा राखेर आज मध्याह्नको उडान तय गरिएको छ। निगमले हवाई मार्ग सुरक्षित भएको पुष्टि भएपछि तत्कालै उडान सञ्चालनको निर्णय लिएको जनाएको छ ।

निगमको आरए-२३९ उडान सोमबार राति ११ बजे दोहाका लागि उड्ने तयारीमा थियो। यात्रुहरूलाई विमानमा ‘बोर्डिङ’ गराउने अन्तिम तयारी भइरहेका बेला इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि हवाई मार्ग असुरक्षित बनेको सूचना आएको थियो । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै निगमले उडान रद्द गरेको थियो ।

उडान रद्दको आकस्मिक सूचनाले विमानमा चढ्ने तयारीमा रहेका यात्रु विमानस्थलमै अलपत्र परेका थिए । घरबाट बिदा भएर गन्तव्यतर्फ हिँडेका उनीहरूले विमानस्थलको चिसो भुइँमा सुतेर रात बिताउनुपरेको थियो ।