विष्णुमतीमा खस्यो कार : चालक हामफाले, कारसहित बगेकी महिलाको उद्धार

by cityhalkhabar
3 views

काठमाडौं, १२ असार – उर्लिएको विष्णुमती खोलाको भेलले कारसहित बगाएकी एक महिलाको सकुशल उद्धार गरिएको छ । चालकले हामफालेर ज्यान जोगाए पनि कारभित्रै रहेकी महिलालाई प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो ।

घटना गएराति १०:१० बजे काठमाडौँको टोखा नगरपालिका-६, ग्रान्डी अस्पताल पछाडिको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार खोला किनारको साँघुरो सडकमा गुडिरहेको बा.प्र.०१-०३१ च ६१४१ नम्बरको कार अर्को गाडीलाई साइड दिने क्रममा किनाराको माटो भासिएर सिधै विष्णुमती खोलामा खसेको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार कार खस्नै लाग्दा चालक कञ्चनपुरका ३५ वर्षीय अंकुश सिंहले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भए । तर, कारमा सवार दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओली भने कारसँगै खोलाको तीव्र बहाबमा परेकी थिइन् ।

यात्रुसहित कार बगेको सूचना पाउनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराको नेतृत्वमा ४५ जना प्रहरीको टोली तत्काल उद्धारमा खटिएको थियो । ‘रातिको समय र खोलाको तीव्र बहाबका कारण उद्धारकार्य निकै चुनौतीपूर्ण थियो,’ एसपी बोहराले भने, ‘हाम्रो टोलीले निरन्तर खोजी गर्दा करिब डेढ किलोमिटर तल बानियाँटार पुलमा कार अड्किएको अवस्थामा भेटियो ।’

प्रहरीले तत्कालै कारभित्र अचेत अवस्थामा रहेकी भावनालाई बाहिर निकालेर उपचारका लागि ग्रिनसिटी अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खोलामा खसेको कारलाई राति नै क्रेनको सहायताले बाहिर निकालिएको छ ।