आयल निगम थानकोट डिपोमा कर्मचारीकै संलग्नतामा तेल चोरी, व्यवस्थापन मौन

by cityhalkhabar
3 views

काठमाडौं, १३ असार –  नेपाल आयल निगममा तेल चोरीका घटना बढ्न थालेका छन् । यस्ता घटनामा निगमकै कर्मचारीहरू संलग्न हुने गरे पनि त्यस्ता कर्मचारी भने जोगिने गरेका छन् । निगम स्रोतका अनुसार ३० जेठ २०८२ मा थानकोट डिपोबाट अपरेसन अधिकृत गणेशराज जोशीले ना. ४ ख ९४२२ नम्बरको ट्यांकरमा थप ३ सय लिटर तेल बाहिर पठाएको खुलेको छ ।

उक्त ट्यांकरले सलम्बुदेवी आयल स्टोरका लागि २० हजार लिटर इन्धन ढुवानी गर्ने क्रममा बाटोमा रोकी च्याम्बरको मेनहोलबाट बाल्टिनमा खन्याइरहेको अवस्थामा समातिएको थियो ।

यसरी ट्यांकरले तेल चोर्दाचोर्दै कसैले कार्यालय प्रमुखलाई जानकारी गराएपछि निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख तथा थानकोट डिपो प्रमुख अशोक साहले उक्त ट्यांकरका धनी मंगल ढुवानी सेवालाई १ असारमा स्पष्टीकरण सोधेका छन् । त्यसयता उक्त ट्यांकरलाई ढुवानी कार्यमा रोक लगाइएको छ ।

जबकि, डिपो प्रमुख र तेल डिस्प्याच गर्ने अधिकारीको संलग्नताविना यस्तो घटना हुनै नसक्ने आयल निगम स्रोत बताउँछ । तर, प्रादेशिक प्रमुख तथा डिपो प्रमुख साहले आफू ‘बच्न’ र अपरेसन अधिकृत जोशीलाई बचाउन निगमको मंगल ढुवानी सेवालाई १ असारमा तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेका थिए ।

स्पष्टीकरण पत्रमा निगमसँग ढुवानी सम्झौतामा रहेको २० हजार किलोलिटर क्षमताको उक्त नम्बरको ट्यांकर चालकले ३० जेठमा थानकोट डिपोबाट तेल लोड भएर गएपछि बाटोमा तेल चोरी गरेको उल्लेख छ ।

निगम व्यवस्थापनका उच्च अधिकारीहरूको ‘मिलेमतो’ मै हुने गरेका अधिकांश तेल चोरीका घटनामा ट्यांकर चालक र खलाँसीलाई मात्र कारबाही हुने गरे पनि संलग्न निगमकै कर्मचारीहरू भने उम्किने गरेको पाइन्छ ।

यस्तो गैरकानुनी काम गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली अनुसार कारबाही किन नगर्ने भन्दै निगमले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । स्पष्टीकरण पेस नगरे निगमको ढुवानी विनियमावली अनुसार कारबाही गरिने प्रादेशिक कार्यालयको पत्रमा उल्लेख छ ।

आयल निगममा तेल चोरी भएको यो एक प्रतिनिधि घटनामात्र हो । यस्ता घटना निगममा सयौँ पटक भएका छन् । तर, निगम व्यवस्थापनका उच्च अधिकारीहरूको ‘मिलेमतो’ मै हुने गरेका अधिकांश तेल चोरीका घटनामा ट्यांकर चालक र खलाँसीलाई मात्र कारबाही हुने गरे पनि संलग्न निगमकै कर्मचारीहरू भने उम्किने गरेको पाइन्छ ।

यसरी चोरी गरी बाहिर पठाएको तेल ट्यांकर चालकले आफूसँग सम्पर्कमा भएको राजधानी र आसपास पम्पमा केही सस्तो मूल्यमा बिक्री गर्छन् । यसरी बिक्रीबाट प्राप्त रकम निगम उच्च तहका कर्मचारीका भागमा पनि पुग्ने गरेको छ ।

आयल निगम के भन्छ ?

आयल निगमको बागमती प्रादेशिक कार्यालय थानकोट डिपो प्रमुख अशोक साहसँग तेल चोरीको घटनाबारे सोध्दा उनले यो सरासर र झुटो भएको दाबी गरे । उनले तेल चोरीको कुनै घटना नै नभएको अडान लिए ।

त्यसपछि अनलाइनखबरले तेल चोरीमा प्रयोग गरिएको ट्यांकरको नम्बर र ट्यांकर ढुवानी कम्पनीको नाम तथा डिपो प्रमुख साहकै हस्ताक्षरमा जारी भएको स्पष्टीकरण पत्रबारे सोधेपछि भने उनले घटना भएको स्वीकारे ।

‘तेल लिएर फर्ममा जाँदा उक्त ट्यांकरको खलाँसीले तेल निकाल्दै गरेको अवस्थामा भेटेपछि डिलरले नै फोन गरेर हामीलाई जानकारी दिएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले खलाँसीलाई किन तेल चोरेको भनेर स्पष्टीकरण सोधेर कारबाही गरेका हौं । स्पष्टीकरणमा ड्राइभरले नै आफूलाई थाहा नभएको र खलाँसीले चोरेको भनेका छन् । खलाँसीलाई हामीले निकालिसक्यौं ।’

डिपो प्रमुख साहले तेल भरेर डिपोबाट ट्यांकर बाहिरिएपछि निगमको जिम्मेवारी नहुने तर्क गरे । यस्तै आयल निगमका प्रवक्ता मनोज ठाकुरसँग यस घटनाबारे बुझ्दा उनले आफूलाई कुनै जानकारी र विवरण प्राप्त नभएको बताए ।

थानकोट डिपोमा विगतमा पनि हुन्थ्यो तेल चोरी

निगम स्रोतका अनुसार थानकोट डिपोमा विगतमा पनि तेल चोरीका कयौँ घटना भएका थिए । तत्कालीन कार्यालय प्रमुख शैलेन्द्र भुसालको कार्यकालमा पनि निरन्तर तेल चोरी हुने गरेको थियो । त्यसबेला दैनिक ७ सयदेखि १ हजार लिटरका दरले तीन महिनासम्म तेल चोरी भएको थियो ।

त्यसरी तेल पठाउने काम फिल्डमा कार्यरत अर्का कर्मचारी जगदीश जोशीका माध्यमबाट ना. ८ ख ११९६ नम्बरको ट्यांकरमा लोड भएर नियमित बढी तेल जाने गरेको स्रोतले जानकारी दियो ।

तर, तेल चोरीको घटना बाहिर आउन थालेपछि घटना ढाकछोप पार्न जोशीलाई कारबाही गरेजस्तो देखाउन दुई महिना जिम्मेवारीविहीन बनाएर पछि धनगढी डिपोमा सरुवा गरिएको थियो भने ट्यांकरलाई पाँच महिनासम्म ढुवानी कार्यमा रोक लगाइएको थियो ।

‘तत्कालीन कार्यालय प्रमुख र कर्मचारी जोशीलाई कारबाही गर्दा तेल चोरीको घटना बाहिरिने डरले निगम व्यवस्थापनले गुपचुपमै मिलाएको थियो,’ स्रोतले अनलाइनखबरसँग भन्यो । निगममा तेल चोरीका घटना दैनिकजसो भइरहे पनि कुनै–कुनै केस मात्रै बाहिर आउने गरेको स्रोतहरू बताउँछन् ।

स्रोतका अनुसार यसरी तेल चोरीबाट हुने नोक्सानी सम्बन्धित कर्मचारी र प्रमुख बसेर प्राविधिक नोक्सानीमा देखाउने र धेरै घाटा देखिए निगमलाई ढुवानी भाडाबापत कमिसन नदिने ट्यांकरलाई छानिछानी पानी चेकमा हालेर त्यसमा कार्यालयले केही फल्ट देखाएर तिनीहरूबाट हिसाब मिलाउने गरिएको छ । पानी चेक भनेको ट्यांकरको क्यालिब्रेसन ठिक छ कि छैन भनेर पानी राखेर जाँच गर्ने प्रक्रिया हो ।

स्रोतका अनुसार अहिले पनि ना. ६ ख ६९२८ नम्बरको ट्यांकरबाट थानकोट डिपोमा केही अपरेसन अधिकृतले बढी तेल बाहिर पठाइरहेको आशंका छ । कुनै पनि पेट्रोल पम्पका नाममा दर्ता नभएको गाडीले पेट्रोल ढुवानी गर्न नमिल्ने नियम आयल निगममा छ । तर, यो नम्बरको ट्यांकर कुनै पनि पेट्रोल पम्पको नाममा दर्ता नभए पनि नियमित तेल ढुवानी गरिरहेको निगम स्रोतको दाबी छ ।

निगममा तेल चोरीका घटना दैनिकजसो भइरहे पनि कुनै–कुनै केस मात्रै बाहिर आउने गरेको स्रोतहरू बताउँछन् । यसअघि साउन २०८० मा आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दास पेट्रोलियम पदार्थ चोरीमा संलग्न रहेको घटना बाहिर आएको थियो ।

५ साउनमा ग. २ ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटरको पैसा लिएर स्थानीय पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पलाई १५ हजार १ सय ९ लिटर डिजेल पठाउँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकर नियन्त्रणमा लिएको थियो । दासकै नेतृत्वमा एउटै ट्यांकरमा ३ हजार लिटरभन्दा बढी तेल अपचलन भएको अनुसन्धानबाट खुलेपछि जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो ।

एउटा ट्यांकरमा एकै पटकमा बिल परिमाणभन्दा साढे ४ लाख रुपैयाँ बढीको इन्धन बिक्री गर्ने कार्य संगठित रूपमा भएको भन्दै डिपो प्रमुख चित्तरञ्जन दास र ट्यांकर मालिक लगायतलाई कारबाही गर्न कास्की जिल्ला प्रशासनले अख्तियारलाई पत्र पठाएको थियो ।

त्यसपछि अख्तियारले गरेको अनुसन्धानमा उनीहरूले मिलेमतोमा सीसी क्यामरा बन्द गरी नियतवश बढी डिजेल लोड गर्ने गरेको खुलेको थियो । २५ साउन २०८० मा पश्चिमाञ्चल ट्रेडर्स कम्पनीले १२ हजार लिटर डिजेलको अर्डर गरी निगमको खातामा भुक्तानी गरेको थियो । तर, मिलेमतोमा सीसी क्यामेरा बन्द गरी ३ हजार ३८ लिटर बढी डिजेल लोड गरी पठाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

उक्त डिजेल ग. २ ख ८३६ नम्बरको ट्यांकरमा लोड गरी डिपोबाट लगिएको थियो । पोखरा महानगरपालिका–२७ मा रोकी गरिएको जाँचमा ट्यांकरमा १५ हजार ३८ लिटर डिजेल फेला परेको थियो ।

सोही घटनामा २५ जेठ २०८२ मा तत्कालीन कार्यालय प्रमुख चितरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाट तथा ट्यांकर चालक निर्मल थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उनीहरू विरुद्ध जनही ४ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।