काठमाडौं, १९ असार – काठमाडौंको तारकेश्वर नगरपालिकामा बुधबार राति भएको एक सडक दुर्घटनामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय एक वृद्धको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त, बालाजुका अनुसार मृत्यु हुनेमा तारकेश्वर नगरपालिका-८, भेटघाट चोक निवासी अन्दाजी ७० वर्षीय कुलबहादुर आचार्य रहेका छन् । बुधबार राति सवा ८ बजेतिर तारकेश्वर-३, पाँचमानेस्थित सडकमा बाटो काट्दै गर्दा उनलाई तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
तारकेश्वर-३, पाँचमानेकै नवीन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको मोटरसाइकलको ठक्करबाट आचार्य गम्भीर घाइते भएका थिए । दुर्घटनालगत्तै उनलाई तत्काल उपचारका लागि नजिकैको सिटी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा राति सवा ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना गराउने चालक घिमिरेलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त, बालाजुले चालकलाई हिरासतमा राखी दुर्घटनाको कारणबारे थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।