भोजपुर, २१ असार – भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तिले पत्नीसहित ससुरालीका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलाउछ बस्ने राजेन्द्र राईले शनिबार मध्यराति ससुरालीमा गएर चार जनाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाका अनुसार रामप्रसाद राई गाउँपालिका-२, धोद्लेखानीस्थित एकै घरमा चार जनाको शव हत्या गरिएको अवस्थामा फेला परेको हो । मृत्यु हुनेहरूमा माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालाे ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनास्थलमा गम्भीर घाइते अवस्थामा फेला परेका राईले आफूले नै हत्या गरेको स्वीकार गरिसकेको डीएसपी तिमिल्सिनाले जानकारी दिए । ‘घाइते अवस्थामा नियन्त्रणमा लिइएका अभियुक्त राईले हत्या आफूले नै गरेको स्वीकारेका छन्,’ डीएसपी तिमिल्सिनाले भने, ‘पारिवारिक विवाद नै घटनाको मुख्य कारण देखिन्छ ।’
शनिबार राति करिब १ बजे घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यापछि आफूलाई पनि घाइते बनाएका अभियुक्त राईलाई तत्कालै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, भोजपुर पठाएको छ । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थललाई पूर्ण रूपमा सिल गरी प्रमाण संकलन र थप अनुसन्धान कार्यलाई तीव्रता दिएको छ । एउटै परिवारको वंशनाश हुने गरी भएको हत्याकाण्डको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।