भोटेकोशीको बाढीले मितेरी पुलसहित गाडी बगायो, चीनसँगको स्थलमार्ग सम्पर्क विच्छेद

by cityhalkhabar
1 views

काठमाडौं,  – चीनको तिब्बती भूभागमा भएको भीषण वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रमा ठूलाे क्षति पुर्‍याएको छ । मध्यरातमा लेदोसहित उर्लिएको भोटेकोशीको भेलले रसुवागढीस्थित मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका सवारीसाधन बगाएर लगेको हाे ।

बाढीले नेपाल र चीनबीचको स्थलमार्गलाई जोड्ने एकमात्र मितेरी पुललाई पूर्ण रूपमा ध्वस्त बनाएपछि दुई देशबीचको स्थलमार्ग सम्पर्क विच्छेद भएको छ । नदी किनारमा रहेको भन्सारको ‘ड्राइपोर्ट’ (सुक्खा बन्दरगाह) बाढीले तहसनहस बनाएको छ । भन्सार पासको पर्खाइमा पार्किङ गरिएका करिब १५० वटा कन्टेनर र गाडीहरूमध्ये अधिकांशलाई बाढीले बगाएर बेपत्ता बनाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार, भन्सार यार्ड बगरमा परिणत भएको छ, अधिकांश गाडीहरू बाढीले निल्यो । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

अचानक आएको बाढीले केही मानिसहरूलाई समेत बगाएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । यद्यपि, प्रमुख जिल्ला अधिकारी पौडेलले मानवीय क्षतिको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भइनसकेको र खोजी तथा उद्धार कार्यका लागि प्रयास भइरहेको बताए । पुल बगाएसँगै सीमावर्ती क्षेत्रमा रहेका कैयन् व्यापारी, चालक तथा स्थानीय बासिन्दाहरू अलपत्र परेका छन् ।

प्रशासनले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने क्षतिको पूर्ण विवरण संकलन र उद्धार कार्यलाई तीव्रता दिइएको जनाएको छ ।