देशभर मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

by cityhalkhabar
2 views

काठमाडौँ – देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष विज्ञप्ति जारी गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । भारी वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावजस्ता प्राकृतिक विपद्को जोखिम बढ्ने भन्दै महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थान आसपासमै रहेकाले मनसुनी गतिविधि देशभर नै प्रभावकारी बनेको हो । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा पनि आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशभरको मौसममा खासै सुधार हुने देखिँदैन । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

लगातारको वर्षा र त्यसमाथि भारी वर्षाको सम्भावनाले पहाडी क्षेत्रमा भूक्षय र पहिरोको जोखिम बढाएको छ भने तराई तथा नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा बढेको छ । महाशाखाले नदीनालामा पानीको बहाव बढ्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।