साउनको पहिलो सोमबार : देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको लर्को

by cityhalkhabar
3 views

काठमाडौं,  –  आज साउन महिनाको पहिलो सोमबार, राजधानी काठमाडौँ उपत्यकासहित देशभरका शिवालयहरू बिहानैदेखि ‘हर हर महादेव’को जयकारले गुञ्जायमान बनेका छन् । हिन्दु धर्मावलम्बीहरूका लागि शिव आराधनाको विशेष पर्व मानिने यस दिन आराध्यदेव पशुपतिनाथलगायतका मन्दिरहरूमा आस्थाको सागर उर्लिएको छ ।

विशेषगरी, पशुपतिनाथको दर्शनका लागि बिहान ब्रह्म मुहूर्तदेखि नै भक्तजनहरूको लामो लाम लागेको थियो । हरियो, पहेँलो र रातो वस्त्रमा सजिएका महिलाहरू, हातमा पूजा सामग्री र बेलपत्र लिएका श्रद्धालुहरूको भीडले पशुपति क्षेत्रमा धार्मिक उल्लास छाएको छ । खाली खुट्टा, भक्तिभावले ओतप्रोत अनुहारहरू शिवप्रतिको गहिरो आस्थाको प्रतीक बनेका थिए ।

साउन र सोमबारको महिमा
शास्त्रअनुसार श्रावण महिना भगवान् शिवलाई सबैभन्दा प्रिय लाग्छ । शिव पुराणमा उल्लेख भएअनुसार यही महिनामा भएको समुद्र मन्थनबाट निस्किएको हलाहल विष पिएर शिवले सृष्टिको रक्षा गरेका थिए, जसकारण उनको शरीरमा भएको जलनलाई शान्त पार्न जल र बेलपत्र चढाउने परम्परा बसेको हो ।

ज्योतिषीय दृष्टिले पनि सूर्य कर्कट राशिमा प्रवेश गर्ने यस महिनामा चन्द्रमा बलवान हुने हुँदा शिवको पूजाले मानसिक शान्ति, पारिवारिक सुख र आध्यात्मिक उन्नति मिल्ने विश्वास गरिन्छ । यही व्रतको प्रभावले देवी पार्वतीले महादेवलाई पति पाएको धार्मिक आख्यानले पनि सोमबारको व्रतप्रति महिलाहरूको आस्था अझ गहिरो बनाएको छ ।

साउने सोमबारको व्रत श्रद्धालुहरूले आफ्नो सामर्थ्यअनुसार निर्जला, फलाहार वा एक छाक सात्त्विक भोजन गरेर बस्ने गर्छन् । बिहानै स्नान गरी शुद्ध वस्त्र धारण गरेर शिवालयमा गई शिवलिंगमा शुद्ध जल, दूध, दही, घिउ, मह र सख्खर (पञ्चामृत) ले अभिषेक गर्ने, बेलपत्र, धतुरो र श्रीखण्ड अर्पण गर्ने चलन  छ। यस दिन शिव मन्त्रको जप, शिव चालिसा, रुद्राष्टक पाठ र सोमबार व्रत कथा सुन्नाले मनोकामना पूरा हुने र सम्पूर्ण पाप नष्ट हुने जनविश्वास छ ।

यस वर्ष साउने सोमबारमा पशुपति दर्शन गर्न आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार, ‘चारवटा बसले चक्रपथका विभिन्न स्थानबाट भक्तजनलाई निःशुल्क रूपमा पशुपति क्षेत्रसम्म ल्याउने-पुऱ्याउने व्यवस्था मिलाइएको छ ।’