काठमाडौं – राजधानीको गोकर्णेश्वरमा बिहीबार दिउँसो घर अगाडि खेलिरहेकी दुई वर्षीया बालिकाको ट्रकको ठक्करबाट ज्यान गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब पौने ४ बजे गोकर्णेश्वर नगरपालिका-४, नाम्गेल कोलमती मार्गको भित्री सडकमा उक्त दुर्घटना भएको हो ।
सडकतर्फ पछाडि सर्ने (ब्याक गर्ने) क्रममा बा ३ ख ४३४५ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतक बालिका गोकर्णेश्वर(२ बस्ने २३ वर्षीया फुर्बु लामा शेर्पाकी छोरी हुन् ।
घटनालगत्तै प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भक्तपुरको कमलविनायक निवासी ३६ वर्षीय चालक हरिबहादुर श्रेष्ठ रहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।