काठमाडौं, ११ साउन – कांग्रेसकै नेताबीच जारी शक्ति संघर्षले बागमती प्रदेश सरकार विघटनको संघारमा पुगेको परिस्थिति सम्हाल्ने प्रयास जारी राखेको नेपाली कांग्रेसले केन्द्रबाट सहजीकरण गर्ने जिम्मा नेता राजन केसीलाई दिइएको छ ।
कांग्रेसकै कारण कांग्रेस नेतृत्वको सरकार ढल्ने स्थितिमा सहजीकरण गर्न राजन केसीलाई प्रतिनिधि तोकिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । ‘सहजीकरणका लागि केन्द्रीय प्रतिनिधि पठाइदिनुपर्ने हुन्छ । त्यसका लागि पार्टीले केन्द्रीय सदस्य र कीर्तिपुरबाट निर्वाचित सांसद राजनकुमार केसीलाई प्रतिनिधि तोकेको छ,’ महामन्त्री शर्माले भने ।
प्रदेशको कुरा प्रदेशले नै मिलाउने भन्दै उनले त्यसमा केन्द्रबाट हस्तक्षेप नहुने बताए । केसीले सहजीकरण मात्रै गर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ दुवै देउवा पक्षकै नेताहरु हुन् । बजेटमा आएको असन्तुष्टिको मौकामा बानियाँले लामालाई संसदीय दलको नेताबाट हटाउन शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए । संसदीय दलको नेता मुख्यमन्त्री बन्न पाउने भएकाले लामालाई हटाएर बानियाँ दलको नेता बन्ने प्रयासमा छन् ।