सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन

by cityhalkhabar
2 views

काठमाडौं,   – सिन्धुलीको गोलान्जोर गाउँपालिका-६, बागेश्वरमा एकै परिवारका १६ जना सदस्य रहस्यमय तरिकाले सम्पर्कविहीन भएका छन् । लोपोन्मुख हायु समुदायको उक्त परिवार बिहीबारदेखि बेपत्ता भएको र उनीहरूको अवस्था अज्ञात रहँदा सिंगो गाउँ स्तब्ध र चिन्तित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू रहेका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । ‘परिवारका कसैको पनि मोबाइल फोनमा सम्पर्क हुन सकेको छैन,’ एसपी सुवेदीले भने, ‘हामीले प्राविधिक माध्यमबाट लोकेसन पत्ता लगाउने र अन्य सबै कोणबाट गहन अनुसन्धान गरिरहेका छौं ।’

कसरी भयो घटना सार्वजनिक ?
एकान्तमा रहेको उक्त परिवारको घरबाट करिब १५ मिनेटको दूरीमा अर्को घर छ । उनीहरूले आफ्नो एउटा भैँसी गाउँको अर्को घर नजिकै बाँधेका थिए र हरेक दिन घाँस-पानी गर्न जाने गर्थे । तर, बिहीबारदेखि परिवारका कोही पनि भैँसीलाई हेर्न नगएपछि शंका लागेर गाउँलेले सोमबार बिहान उनीहरूको घरमा गएर हेरेका थिए ।

घर पुग्दा ढोका खुल्लै थियो, तर भित्र कोही पनि थिएनन् । घरमा वस्तुभाउ, लत्ताकपडा र अन्य सामानहरू यथावत थिए । घरमै सुँगुर काटेर खाएको अवशेष पनि भेटिएको छ, जसले उनीहरू बेपत्ता हुनुअघि सामान्य अवस्थामा रहेको देखाउँछ । तर, १६ जनाको पूरै परिवार कहाँ र किन गयो भन्ने कुराले सबैलाई अचम्मित बनाएको छ ।

सरकारी भत्ता बुझेलगत्तै बेपत्ता
स्थानीय सरकारले लोपोन्मुख हायुजातिको संरक्षणका लागि प्रतिव्यक्ति मासिक ४,००० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको थियो । सम्पर्कविहीन भएको यही परिवारले हालै मात्र तीन महिनाको एकमुष्ट रकम, अर्थात् १६ जनाको कुल १ लाख ९२ हजार रुपैयाँ बुझेको खुल्न आएको छ । सरकारी भत्ता बुझेको केही समयमै पूरै परिवार सम्पर्कविहीन हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।

प्रहरीले उनीहरूको आर्थिक अवस्था, सामाजिक सम्बन्ध र अन्य सम्भावित कारणहरूबारे अनुसन्धान केन्द्रित गरेको छ । वडा अध्यक्ष रविन श्रेष्ठले उनीहरूको घर एकान्तमा रहेको र गाउँलेसँग पनि कमै घुलमिल हुने गरेको जानकारी दिए । प्रहरी र स्थानीयवासीले परिवारको खोजी कार्यलाई तीव्र पारेका छन्, तर हालसम्म कुनै सुइँको फेला पर्न सकेको छैन ।