काठमाडौं, – निरन्तरको बिरामी र धामीझाँक्रीको सल्लाहले सिन्धुलीको एकै परिवारका १६ सदस्य आफ्नो थाकथलो नै छाडेर पोखरा आइपुगेको अनौठो घटना बाहिर आएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट एकाएक पोखरामा भेटिएको यो परिवारका बारेमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-६, छेत्पाकी उर्मिला हायूको परिवारका १६ जना सदस्य सोमबार साँझ पोखरा महानगरपालिका-३०, गगनगौडामा फेला परेका हुन् । उनीहरू सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख, प्रहरी निरीक्षक श्रवण विकले जानकारी दिए ।
प्रहरीसँगको प्रारम्भिक सोधपुछमा उनीहरूले घरमा लामो समयदेखि परिवारका सदस्यहरू, विशेषगरी केटाकेटीहरू, बिरामी परिरहने समस्याले सताएको बताएका छन् । उनीहरूका अनुसार, स्थानीय धामीले ‘यो ठाउँमा नबस्नू, बसाइँ सर्नू’ भनेर सल्लाह दिएपछि सम्पूर्ण परिवारले गाउँ नै छाड्ने निर्णय गरेको हो । ‘उहाँहरूले घरमा बिरामीले सताएको र धामीले बसाइँ सर्न भनेकाले आएको प्रारम्भिक जानकारी दिनुभएको छ,’ प्रहरी प्रमुख विकले भने, ‘यो एउटा संवेदनशील विषय भएकाले हामीले थप अनुसन्धान अगाडि बढाएका छौं ।’
हाललाई आफन्त र स्थानीय जनप्रतिनिधिको रोहबरमा उनीहरूलाई सोही भाडाको कोठामा नै बस्ने व्यवस्था मिलाइएको छ । प्रहरीले उनीहरूले गाउँ छाड्नुको पछाडि अन्धविश्वास मात्रै हो वा अन्य कुनै कारण लुकेको छ भन्नेबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ । लोपोन्मुख हायू समुदायको यो परिवारले यसरी एकाएक थाकथलो छाडेर हिँड्नुले स्थानीय स्तरमा समेत गहिरो चासो बढाएको छ ।