काठमाडौँ, १६ श्रावण – आज संघीय संसदका चार समितिका बैठक बस्दैछ । आज प्रतिनिधि सभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज अपराहन्न साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो साढे २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाको बारेमा छलफल हुने कार्यसूची रहेको छ ।