आँसु थाम्न गाह्रो हुने गीत ‘ए आमा हो’ सार्वजनिक (भिडियोसहित)

by cityhalkhabar
3 views

काठमाडौं – नेपाली समाजमा छोरीले विवाहपछि भोग्नुपर्ने सामाजिक र मानसिक पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको नयाँ गीत ‘ए आमा हो’ सार्वजनिक भएको छ । गीतकार तथा सङ्गीतकार विशाल क्षेत्रीका शब्दहरूले विवाहपछि पराइ घरमा बुहारीका रूपमा सुरु हुने छोरीको कहालीलाग्दो यथार्थलाई हृदयस्पर्शी ढङ्गले उतारेको छ ।

उनको पछिल्लो सिर्जनाले परम्पराको नाममा महिलाले भोग्दै आएका अनगिन्ती पीडाहरूलाई आवाज दिने एक सशक्त प्रयास गरेको छ । हिजोका दिनमा तीजजस्ता पर्वमा माइत आएर आफ्ना दुःख र वेदना आमासामु पोख्ने अवसर पाउने महिलाहरूको कथालाई गीतले आजको आधुनिक परिवेशसँग जोडेको छ । गीतले भन्छ- परिवेश बदलिए पनि महिलाले भोग्ने अपमान, बेवास्ता र मानसिक पीडाको स्वरूप आज पनि उस्तै छ, फरक यति हो कि हिजो पोखिने दुःख आज मनभित्रै गुम्सिएका छन् ।

यो गीत हाम्रो सामाजिक यथार्थको दर्पण बनेको छ, जसले प्रश्न गर्छ, ‘आजको आधुनिक समाजमा पनि यदि बुहारीको अस्तित्व र भावनालाई सम्मान गरिँदैन भने, हाम्रा छोरीहरू कहिले सुरक्षित र सम्मानित हुने ?’

क्षेत्रीका गहिरा शब्दलाई गायिका रिना केसीको भावुक र सुमधुर स्वरले जीवन्त बनाएको छ । उनको स्वरले गीतमा रहेको पीडालाई हरेक स्रोताको मनसम्म पुर्‍याउँछ । यम थापा मगरको सङ्गीत संयोजनले गीतको भावलाई थप गहिराइ दिएको छ ।

दुर्गा पौडेलको निर्देशनमा तयार भएको भिडियोले गीतको मर्मलाई सफलतापूर्वक पर्दामा उतारेको छ । भिडियोमा कलाकारहरू यशु भट्टराई र एलएक्स बस्नेतको जीवन्त अभिनय देख्न सकिन्छ । विवाहको हर्षोल्लासदेखि पराइ घरमा भोग्नुपरेको उपेक्षा र मानसिक यातनासम्मका दृश्यले दर्शकको मन छुन्छ । बाल कलाकारहरू सुजिता कटवाल र गौरव कटवालको उपस्थिति मार्मिक छ ।

यो गीत केवल एक कलात्मक सिर्जना मात्र नभएर, सामाजिक चेतनास्तरमा परिवर्तनको आवश्यकता औंल्याउने एक महत्वपूर्ण आवाज हो । जबसम्म हाम्रो समाजले यी मौन चित्कारहरूलाई सुन्दैन र बुझ्दैन, तबसम्म वास्तविक परिवर्तन असम्भव छ । गीतले हामी सबैलाई सोच्न बाध्य बनाउँछ र भन्छ, ‘अब समय आएको छ, यी गीतका पीडाभित्र लुकेको आवाज सुन्ने, बुझ्ने र बदल्ने ।’

तपाईंको प्रतिकृया