लामो रस्साकस्सीपछि इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री

by cityhalkhabar
2 views

काठमाडौं, लामो राजनीतिक रस्साकस्सी र नाटकीय घटनाक्रमबीच नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले)का २७ गरी कुल ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री रहेका कांग्रेसकै बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि मंगलबार दिउँसो २ बजेसम्मको समयसीमा तोकेका थिए । सरकार गठनको आह्वान भएको करिब आधा घण्टामै बानियाँले बहुमत सांसदको समर्थनसहित दाबी पेश गरेका थिए ।

बानियाँको मुख्यमन्त्री बन्ने यात्रा पार्टीभित्रको आन्तरिक संघर्षले भरिपूर्ण रह्यो । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुँदा उनी संसदीय दलको नेतामा बहादुरसिंह लामासँग ५ मतले पराजित भएका थिए । तर, साढे दुई वर्षपछि बानियाँकै नेतृत्वमा २१ सांसदले तत्कालीन मुख्यमन्त्री तथा दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए । १३ साउनमा भएको मतदानमा अविश्वासको प्रस्ताव पारित भएपछि लामाले दलको नेताबाट बाहिरिनुपरेको थियाे । त्यसको भोलिपल्ट, १४ साउनमा भएको दलको नेताको निर्वाचनमा लामालाई पराजित गर्दै बानियाँले मुख्यमन्त्री बन्ने आफ्नो बाटो सुनिश्चित गरेका थिए ।

मकवानपुर निवासी बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दोस्रो मकवानपुरे हुन् । यसअघि संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरकै थिए । निर्माण व्यवसाय पृष्ठभूमिका बानियाँ कम्युनिष्टको गढ मानिने मकवानपुरबाट २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष जित हासिल गर्ने पहिलो कांग्रेस नेता हुन् ।