महालक्ष्मी बैंकको पौने तीन करोड हिनामिना: पूर्वप्रबन्धकसहित चार कर्मचारी पक्राउ

by cityhalkhabar
13 views

काठमाडौं, महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखाबाट करिब तीन करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा बैंकका एक पूर्वशाखा प्रबन्धकसहित चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । बैंकको नगद भल्टबाटै रकम निकालेर अनियमितता गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी बैंकिङ कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखाका तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही रहेका छन् । डोटी घर भई कैलालीको भजनीमा बस्दै आएका शाहीसँगै नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउँद, ग्राहक सेवा कक्षकी २८ वर्षीया अम्बादत्त पन्त र कर्जा विभागका ३१ वर्षीय धनन्जय पन्तलाई पनि नियन्त्रणमा लिइएको छ ।

बैंकको गोकुलेश्वर शाखाबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा नोक्सानी भएको देखिएपछि बैंक प्रशासनले प्रहरीमा जाहेरी दिएको थियो । प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरूको आपसी मिलेमतोमा बैंकको भल्टमा रहेको नगद गैरकानुनी रूपमा भुक्तानी लिएर बैंकलाई हानि पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ ।

आन्तरिक लेखा परीक्षणका क्रममा रकम हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकले अनुसन्धान गरी प्रहरीमा उजुरी गरेको थियो । सोही जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत, दार्चुलाबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।