बहुप्रतिक्षित ‘नाडा अटो शो’ आजदेखि, मुख्य आकर्षण ‘उड्ने कार’

by cityhalkhabar
1 views

काठमाडौँ, ३ भदौ – सवारी साधनका पारखीहरूका लागि वर्षकै सबैभन्दा ठूलो जमघट मानिने ‘नाडा अटो शो–२०२५’ को पर्दा आज (मंगलबार) देखि उठ्दैछ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु हुने शो को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

यो भव्य प्रदर्शनी यही भदौ ८ गतेसम्म चल्नेछ। अवलोकनकर्ताहरूका लागि शो हरेक दिन बिहान साढे १० बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने आयोजकले जनाएको छ।

यस पटकको अटो शोमा १२५ भन्दा बढी कम्पनी तथा संस्थाहरूको सहभागिता रहनेछ, जसले यसलाई हालसम्मकै वृहत् संस्करणमध्ये एक बनाएको छ। प्रदर्शनीमा ३० भन्दा बढी प्रतिष्ठित ब्रान्डका चारपाङ्ग्रे गाडी, मोटरसाइकल/स्कुटर, र लाइट कमर्सियल गाडीहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। यसका साथै, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनहरूका लागि छुट्टाछुट्टै स्टल रहनेछन्।

सबैको नजर ‘उड्ने कार’मा

यस वर्षको अटो शोको सबैभन्दा ठूलो र विशेष आकर्षणको रुपमा ‘उड्ने कार’ (फ्लाइङ कार) रहने नाडाले जनाएको छ। भविष्यको यातायातको साधनका रूपमा हेरिएको यो नौलो प्रविधिले अवलोकनकर्ताहरूको ध्यान खिच्ने र शो लाई थप अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।

नाडा अटो शोलाई नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सवका रूपमा लिइन्छ। यसले नयाँ प्रविधि, नयाँ सवारी साधन सार्वजनिक गर्ने र उपभोक्ताहरूलाई एकै छानामुनि विभिन्न ब्रान्डका उत्पादनहरू तुलना गरेर खरिद गर्ने सुनौलो अवसर प्रदान गर्दछ।