काठमाडौं, – नेपालको राजनीतिक परिदृश्यमा नयाँ अध्यायको सुरुवात भएको छ । भ्रष्टाचारविरुद्धको विशाल आन्दोलनबाट सत्तापलट गर्न सफल भएको ‘जेन-जी’ पुस्ताले अनलाइन भोटिङ मार्फत सबैभन्दा लोकप्रिय ‘क्यान्डिडेट’ शुसिला कार्कीलाई प्रधानमन्त्रीमा चयन गरेको छ । जेन-जी का अगुवा सुदन गुरुङले मन्त्रिपरिषद्लाई स्वच्छ र स्वतन्त्र विज्ञहरू राखेर पूर्णता दिइने बताएका छन् ।
प्रधानमन्त्री कार्कीको चयन प्रक्रिया जस्तै, अब मन्त्रीहरू पनि आम नागरिकको सहभागितामा छनोट हुनेछन् । गुरुङले सञ्चार माध्यमसँग भने, ‘सबैभन्दा पहिले कसलाई मन्त्री बनाउँदा ठिक हुन्छ भनेर आम नागरिकलाई सार्वजनिक आह्वान गर्छौं । विभिन्न माध्यमबाट उहाँहरूले प्रस्ताव गर्नुहुन्छ । नागरिकले प्रस्ताव गरेकामध्येबाट सम्भावित उम्मेदवारबारे हाम्रो मापदण्डअनुसार स्क्रिनिङ गर्छौं । पृष्ठभूमि, विज्ञता, दलको मान्छे हो कि होइन, के कस्तो हो सबै हेरिन्छ । पार्टीगत हुनुभएन, स्वतन्त्र हुनुपर्यो भन्ने हाम्रो मापदण्ड छ ।’
प्रधानमन्त्री कार्कीले जेन-जी पुस्तालाई निराश नबनाउने र उनीहरूकै सल्लाहमा मन्त्रिपरिषद् बनाएर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले आइतबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा कार्यभार सम्हाल्ने भएकी छन् । अधिवक्ता ओमप्रकाश अर्यालकाअनुसार सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ। आन्दोलनकारीले पुरानो कार्यालय जलाएपछि नयाँ कार्यालयबाट काम गर्न लागिएको हो ।
जेन-जी को आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो । कार्कीले शुक्रबार साँझ शपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरिन् ।