काठमाडौं, २६ आश्विन – प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएको एक नक्कली फेसबुक पेजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका राजनीतिक दल र तिनका नेताहरूविरुद्ध आपत्तिजनक तथा अनर्गल सन्देशहरू सम्प्रेषण गरेको पाइएको छ । ‘पीएम सुशीला कार्की’ नामको उक्त फेसबुक पेजमा प्रधानमन्त्रीको तस्बिर र राष्ट्रिय निशाना छापको दुरुपयोग गर्दै विभिन्न उत्तेजक फोटो तथा विवरणहरू राखिएको छ ।
यो नक्कली पेजले विशेष गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे लक्षित गरी निराधार र आपत्तिजनक प्रचार गरेको छ, जसले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । यसैगरी, अन्य राजनीतिक दल र तिनका नेताहरूविरुद्ध पनि अनर्गल प्रचार सामग्रीहरू राखिएको उक्त पेजमा हालसम्म ३४ हजारभन्दा बढी फ्लोअर्स पुगिसकेका छन् ।
प्रधानमन्त्रीको नाममा यस्ता नक्कली सामाजिक सञ्जाल खाताहरू सञ्चालन भइरहेको र त्यसमा आपत्तिजनक सामग्रीहरू राखिएको भए तापनि प्रधानमन्त्री कार्यालयले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । यसले गर्दा यस्ता नक्कली पेजहरूको विश्वसनियतामाथि प्रश्नचिन्ह खडा भएको छ र आम नागरिकमा भ्रम सिर्जना हुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री कार्कीको नाममा यस्ता थुप्रै नक्कली फेसबुक आईडीहरू पनि सक्रिय रहेको पाइएको छ, जसले गर्दा डिजिटल स्पेसमा गलत सूचना र भ्रम फैलाउने क्रम बढेको छ।