काठमाडौं, २९ आश्विन – हिन्द महासागरको टापु राष्ट्र मेडागास्करमा जेनजी आन्दोलनको समर्थनमा सेनाले सत्ता कब्जा गरेको छ । यससँगै राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनको वर्तमान अवस्था अज्ञात रहेको छ, जसले मेडागास्करको राजनीतिक भविष्यमा थप अनिश्चितता थपेको छ ।
गत केही हप्तादेखि सरकारविरुद्ध जारी जनप्रदर्शनले उग्र रूप लिइरहेका बेला सेनाको विशेष दस्ता, क्यापसाटले सत्ताको बागडोर सम्हालेको घोषणा गरेको हो । राष्ट्रपति कार्यालयले मंगलबार यस कदमको कडा निन्दा गर्दै यसलाई असंवैधानिक भएको बताएको छ । रजोएलिनाले आफू अझै वैधानिक राष्ट्रपति रहेको दाबी गरे पनि परिस्थितिले उनको दाबीलाई कमजोर बनाएको छ ।
बीबीसीका अनुसार क्यापसाटले संवैधानिक अदालत, निर्वाचन आयोगसहित प्रमुख लोकतान्त्रिक संस्थाहरूलाई निलम्बन गरेको घोषणा गरेको छ । यो विशेष सैन्य इकाई, जसलाई प्रशासनिक र प्राविधिक अधिकृतहरूको समूह मानिन्छ, मेडागास्करको सैन्य संरचनामा एक महत्त्वपूर्ण हिस्सा हो ।
क्यापसाटका प्रमुख कर्णेल मिकाएल रान्द्रियनिरिनाले पत्रकार सम्मेलनमार्फत आफ्नो ‘एलिट युनिट’ क्यापसाटले शासन नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । उनले नयाँ सरकार गठन गरी राष्ट्रिय सहमति कायम गर्ने र १८ महिनादेखि दुई वर्षभित्र निष्पक्ष निर्वाचन गराएर राजनीतिक निकास खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कर्णेल रान्द्रियनिरिनाले सरकार जनताको भावनाअनुसार काम गर्न नसकेकाले सेना हस्तक्षेप गर्न बाध्य भएको दाबी गरेका छन् । उनले भने, ‘यहाँ न राष्ट्रपति छ, न सरकार, केही पनि काम गरिरहेको छैन ।’ सरकारको अक्षम्य असफलताले सेनालाई वर्तमान शासन हटाउन बाध्य पारेको उनको भनाइ छ । उनले जेनजी आन्दोलनकारीहरूको मागको सम्मान गर्ने र जनभावनालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
फ्रान्सको पूर्व उपनिवेश मेडागास्करले यसअघि पनि सैन्य हस्तक्षेप र अस्थिरताको सामना गरिसकेको छ । सन् २००९ मा पनि तत्कालीन राष्ट्रपति मार्क राभालोमानानालाई सैन्य विद्रोहपछि सत्ताच्युत गरिएको थियो । यसपटकको घटनाले मेडागास्कर फेरि एकपटक सैन्य नियन्त्रणमा पुगेको छ, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढाएको छ ।