काठमाडौं, – गत भदौ २४ गते संघीय राजधानीसहित देशभर भएको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीमाथि धरपकड नगर्न गृह मन्त्रालयले दिएको निर्देशनपछि सुस्ताएको प्रहरी कारबाही गौरीबहादुर कार्की आयोगको स्पष्टीकरणसँगै पुनः सक्रिय भएको हो ।
आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएपछि प्रहरीले अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको छ । प्रदर्शनका क्रममा बन्दुक तेर्स्याउँदै गरेको भाइरल तस्बिरमा देखिएका राजु परियार (सम्राट) लाई उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, परियारले सर्वोच्च अदालतमा ड्युटीमा रहेका प्रहरीले छाडेको हतियार लिएर गएको बयान दिएका छन्, यद्यपि उनले हतियार नेपाली सेनालाई बुझाएको भनाइको कुनै प्रमाण भेटिएको छैन ।
एसएसपी रमेश बस्नेतका अनुसार, प्राविधिक विश्लेषणका आधारमा प्रहरीले आन्दोलनलगत्तैदेखि परियारको खोजी गरिरहेको थियो । परियारको आपराधिक पृष्ठभूमि पनि सार्वजनिक भएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग, ठगी र अभद्र व्यवहार लगायतका दर्जनौं मुद्दा दर्ता छन् । आन्दोलनको आडमा पटके अपराधीहरूले मौकाको फाइदा उठाएको देखिन्छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ‘जेनजी’ को नाममा कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, शाहीले विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर केरकार गर्ने र युट्युबरका साथमा गएर कर्मचारीको राजीनामा माग्ने गरेका थिए । नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका कर्मचारीले उनको गतिविधिबारे गुनासो गरेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
शाही पनि वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपी रहेको खुलेको छ । उनलाई यसअघि पनि कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । इलाम २ को उपचुनावमा उम्मेदवार बनेका शाहीको आपराधिक संलग्नताले आन्दोलनको आवरणमा हुने आपराधिक क्रियाकलापलाई थप प्रस्ट पारेको छ ।
महाराजगन्जमा खटिएका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा २८ वर्षीय युवराज क्याप्छाकी र २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) विरुद्ध बुधबार अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दुवै जनाविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा सजाय माग दाबी गरेको छ ।
प्रहरीको बयानमा, आन्दोलनकारीले प्रहरी जवान थापालाई कार्यालयबाटै लछारपछार गर्दै बाहिर ल्याएर भाटभटेनी सुपर मार्केट पछाडिको सडकमा लाठी, रड, चिर्पट, इँटा, ढुंगा लगायतका हतियारले अन्धाधुन्ध प्रहार गरेको उल्लेख छ । प्रहरीले संकलन गरेको कल डिटेल रेकर्ड र सरकारी वकिलको रोहबरमा आरोपित तामाङले दिएको बयानले घटनामा उनीहरूको संलग्नता पुष्टि गरेको छ ।
असई होमबहादुर विकले आफू लगायतका प्रहरी अधिकारीहरूले कार्यालयको माथिल्लो तलामा बसेर नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारका लागि गुहार मागेको बयान दिएका छन् । २४ भदौमा प्रहरी प्रभाग, कोटेश्वरमा प्रहरी सहायक हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो ।
प्रहरीले टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गर्ने भारतीय नागरिक निरज पोद्दार, दोलखाका लक्ष्मण थामी र काठमाडौंका सजन तामाङलाई पनि पक्राउ गरेको छ । उनीहरू कार्यालयबाट लुटिएको हतियारसहित प्रदर्शनमा उत्रिएका थिए । सरकारले आन्दोलनको नाममा भएको अराजकता र आपराधिक गतिविधिलाई शून्य सहनशीलता अपनाउने रणनीति लिएको छ ।