उदाउँदो सूर्यलाई अर्घ्य दिएर गरियो छठ पर्वको समापन

by cityhalkhabar
3 views

काठमाडौं, ११ कार्तिक – सूर्यदेवको निष्ठापूर्वक पूजा आराधना गरिने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी गाईको दूध, फूल र जलले अर्घ्य दिएर छठ सम्पन्न गर्ने धार्मिक विधि छ । बिहानै घाटमा गरिने यो पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । यस क्रममा भक्तहरू कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्छन् ।

पृथ्वीमा जीवको सञ्चालन र संरक्षण जल तथा सूर्यबाटै हुने भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गरिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकामना पूरा भई इच्छित फल प्राप्त हुन्छ । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए ।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहित महिला-पुरुषले पतिको दीर्घायु तथा अविवाहितले सुयोग्य वर-वधू प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेहरूको सङ्ख्या पनि ठूलो छ । यो व्रतले मनले चिताएको कुरा पूरा हुने धेरै भक्तजनको विश्वास छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको थियो । चतुर्थीमा स्नान गरी चोखो खाएर व्रत बस्ने चलन छ । यस दिनदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खाँदैनन् । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भयो ।

मनोकामना पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ २०४६ सालपछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो । विसं २०६२ मा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक सुरु भएको हो ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छाडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा छठ हुन थालेको छ ।

छठका लागि सोमबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलहरूमा उदाउँदो सूर्यलाई अर्घ्य दिई यस वर्षको छठ सम्पन्न भएको छठ समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए । सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि राजधानीका छठघाटमा बर्तालुको भिड लागेको थियो । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष सिंहले जानकारी दिए ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।