काठमाडौं, २७ कार्तिक – नेपाल प्रहरीको सर्वोच्च कमान्ड आजबाट प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्हाल्दैछन् । ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङले हिजो राति १२ बजेबाट अनिवार्य अवकाश पाएपछि कार्कीले जिम्मेवारी सम्हालेका हुन् ।
गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि आज उनले प्रहरी प्रधान कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन् । प्रहरी संगठनभित्र एक इमान्दार र अनुभवी अधिकृतको रूपमा परिचित कार्कीसँग विभिन्न चुनौतीपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ ।
डीआईजी रहँदा लुम्बिनी प्रदेशको कमान्ड सम्हालेका उनले एसएसपीको रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए । सोही अवधिमा भुटानी शरणार्थी प्रकरण जस्ता संवेदनशील मुद्दाको सामना गर्नुपरेको थियो । भर्खरै, गत भदौ २४ मा काठमाडौं उपत्यकामा जेनजी आन्दोलन चर्कँदा उपत्यकाको कमान्ड सम्हाल्ने जिम्मेवारी पनि उनकै काँधमा थियो । उपत्यका कमान्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभाग प्रमुखको भूमिकामा थिए ।
कार्कीको पृष्ठभूमिमा कुनै ठूलो आर्थिक विवादमा नमुछिएको स्वच्छ छवि रहेको छ । उनले फिल्डको अनुभवदेखि आईजीपीको सचिवालयमा बसेर काम गरेको अनुभव समेत सँगालेका छन् । विदेशमा विभिन्न तालिम लिइसकेका उनी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिकामा समेत रहेका थिए । नेपाल प्रहरीले अहिले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ ।
