हतियार र कैदीबन्दी खोजीका लागि चारवटै सुरक्षा निकायको संयुक्त अप्रेसन

by cityhalkhabar
2 views

काठमाडौं, १ मंसिर – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका हतियार खोज्न सरकारले चारवटै सुरक्षा निकायको संयुक्त अप्रेसन चलाउने भएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसको सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्ष निकालेको छ ।त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउनु पर्ने निर्णयमा केन्द्रीय सुरक्षा समिति पुगेको हो ।

यसका लागि सरकारले जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ । त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्। प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन् । जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए । तीमध्ये केही त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले बरामद गरेको थियो ।

अहिले पनि दिनहुँ छिटफुट हतियार बरामद भइरहेको छ । प्रहरीले पछिल्लो समय लुटिएका हतियार केन्द्रीय अप्रेसन चलाइरहँदा पनि अपेक्षित हतियार फिर्ता आउन नसकेपछि अन्य सुरक्षा निकायसहितको अप्रेसन चलाउने निर्णय भएको हो । निर्वाचनमा फरार कैदीबन्दीलाई पनि सुरक्षा जोखिमको रुपमा लिइएको छ । तर उनीहरू कतिपय देशै छाडेर भागेका, कतिपय पक्राउ पर्ने क्रम चलिरहेकाले हतियारलाई केन्द्रित गरेर संयुक्त अप्रेसन चलाउन लागिएको हो ।

निर्वाचनलाई लक्षित गरेर सबै जिल्लालाई आ(आफ्नो क्षेत्रको सुरक्षा योजना प्रस्तुत गर्न पनि भनिएको छ । यसअघि गृह मन्त्रालयले सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न समिति बनाएको थियो । समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सामेल थिए । यो समितिको सिफारिस अनुसार नै निर्वाचन सुरक्षाका लागि थप कदम चाल्न लागिएको हो ।