काठमाडौँऽ १५ मङ्सिर — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन् ।
बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्विकार्न आग्रह गर्दा सभापति देउवासँग छलफल गर्ने बताएका संस्थापन पक्षीय नेताहरू सभापति देउवासँगको छलफल पछि स्विकार्न सहमत भएका हुन् ।
देउवालाई भेट्न पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले, गुरु बरालसहित पुगेका थिए ।
देउवाले पुसमा नियमित महाधिवेशन हुने भएमा विशेष महाधिवेशन नहुने बताएपछि आफूहरू पुसमा महाधिवेशन गर्न सहमत भएको पूर्वउपसभापति निधिले बताए । ‘सभापतिज्यूले नै पुसमा महाधिवेशन हुने भयो भने विशेष महाधिवेशन हुँदैन भन्नुभयो । त्यसपछि उहाँको विश्वासमा हामी पुसमा महाधिवेशन गर्न सहमत भयौँ,’ निधिले भने ।
नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको औचित्य सकिने निधिले बताए । देउवाले कार्यवाहक सभापति खड्काले ल्याउने प्रस्ताव सबैको सहमतिको भएकाले मानेर जान नेताहरूलाई आग्रह गरेका थिए । संस्थापन समूह अब आउँदो पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत भएको छ । निधि, सिटौलासहितका नेताहरू निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा थिए ।
