काठमाडौं, २८ मंसिर – नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र आज भृकुटीमण्डपमा सुरु हुँदैछ । प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुनेछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो ।
बन्दसत्र सुरु हुनुअघि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ । गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले पछि सरेको हो ।
नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।
भृकुटी मण्डपमा बिहानैदेखि प्रतिनिधिहरुको चहलपहल बढेको छ । नेताहरूले देशभरबाट आएका प्रतिनिधिलाई आ-आफ्नो दस्तावेज र प्रचार सामग्री वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरुले प्रचारप्रासार गरिरहेका छन् ।
