काठमाडौं, २४ पुस — काठमाडौंको शङ्खरापुर, जहरसिंहपौवा–साँखु सडकखण्डमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
हिज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।
