कांग्रेसमा सहमतिको सम्भावना क्षीण – वार्तामा सहभागी नेता

by cityhalkhabar
1 views

काठमाडौं, ३० पुस – नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी एक नेताका अनुसार अब सहमति हुने सम्भावना अन्त्यन्तै न्यून रहेको छ ।

वार्तामा सहभागी ती नेताले भने अनुसार,  ‘कार्यकारी भूमिकाबाट सभापति हट्नुपर्ने विषयमा उहाँहरू तयार हुनुभएन । सभापतिसँग कुरा गरेर आउँछौ भनेर जानुभएको फर्कनु भएन । कार्यकारी भूमिकामा हट्न सभापति तयार नभएर नै पुनः छलफलमा नआएको बुझियो । उहाँहरूको तर्फबाट फेरि छलफल गर्ने कुरा आएको छैन । तर, पनि हाम्रो तर्फबाट एक पटक प्रयास गर्छौ ।’

उनले अगाडि भने, ‘सबै कुरामा सहमति जुटे विशेषको स्वामित्व लिने कुरा हो । सहमति जुट्न नसके स्वामित्वको लागि कुरा मिलेको भन्न पनि सकिएन ।’

नियमित महाधिवेशन हुने बेलासम्म पार्टी सञ्चालनका लागि एउटा विशेष संयन्त्र बनाएर जाऔं भनेर आफूहरूले विकल्पको प्रस्ताव पनि गरेको उनको भनाइ छ । सभापति सक्रिय राजनीतिबाट हटे मात्रै त्यो संयन्त्र बन्ने कुरा आफूहरूले वार्तामा स्पष्ट रूपमा राखेको उनले सुनाए ।

उनले भने, ‘विशेष महाधिवेशन दुई दिन लम्बिइसकेको छ । सहमति हुन्छ भन्ने आशा राख्दै प्रतिनिधि रोकिराख्न पनि अब सम्भव हुँदैन । उहाँहरूको तर्फबाट संवादको क्रम टुङ्ग्याए जस्तो देखिन्छ । तर, हाम्रो तर्फबाट छलफल गर्न प्रयास गर्छौ । उहाँहरू तयार नभए निर्वाचन प्रक्रिया अघि बढ्छ ।’