काठमाडौं, २० माघ – कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसनद्वारा आयोजित आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुई दिने अवलोकन तथा धार्मिक दर्शन भ्रमण भव्य रूपमा सम्पन्न भएको छ। माघ १६ गते शुक्रबार काठमाडौँबाट सुरु भएको उक्त भ्रमणमा व्यवसायीहरूले सिन्धुली र रामेछापका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गरेका थिए।
भ्रमण कार्यक्रममा एसोसिएसनका कार्यकारी पदाधिकारीहरू, निवर्तमान पदाधिकारीहरू, होटल व्यवसायीहरू, समाजसेवी तथा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। यसले व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन र सहकार्यको नयाँ वातावरण सृजना गर्न मद्दत पुर्याएको सहभागीहरूले बताए।
पर्यटन प्रवर्द्धनमा जोड
एसोसिएसनका अध्यक्ष रमेश कुमार बरालले आन्तरिक पर्यटनलाई चलायमान बनाउन व्यवसायीहरू आफैँ गन्तव्यसम्म पुगेर अध्ययन गर्नु आवश्यक रहेको बताउनुभयो। सिन्धुलीको कुशेश्वर महादेव र रामेछापको प्रसिद्ध खाँडादेवी मन्दिरको दर्शनले धार्मिक पर्यटनको महत्त्वलाई थप उजागर गरेको उहाँको भनाइ थियो।
मनमोहक दृश्य र अर्गानिक स्वाद
भ्रमणका क्रममा सहभागीहरूले सिन्धुली र रामेछापका मनमोहक प्राकृतिक दृश्यहरूको अवलोकन गर्दै स्थानीय “अर्गानिक” स्वादको समेत भरपुर आनन्द लिए। विशेषगरी स्थानीयस्तरमा उत्पादित टिमुर, दाल, मकैको च्याख्ला, फापर र कोदोको परिकारका साथै सिस्नोको सुपले भ्रमणलाई झनै अविस्मरणीय बनाएको थियो।

अध्यक्ष बरालले भ्रमण सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो भ्रमणले पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूबीचको आपसी सद्भाव र स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास र यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकास र स्थानीय उत्पादनको प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने विश्वास एशाेसियसनले व्यक्त गरेको छ ।
