नेपालले अन्तिम ओभरमा जित नजिक पुगेर पनि गुमायो इंग्ल्यान्ड विरूद्धको खेल

by cityhalkhabar
0 views

काठमाडौं, २६ माघ – आइसिसी टी-२० विश्वकप २०२६ मा जित नजिक पुगेर पनि नेपालले इंग्ल्यान्डविरूद्धको खेल गुमाएको छ। समूह ‘सी’ को आफ्नो पहिलो खेलमा भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले इंग्ल्यान्डविरूद्ध ४ रनले खेल गुमाएको हो।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १० रन चाहिदा ५ रन मात्र जोड्न सक्यो भने कुनै बाउन्ड्री प्रहार गर्न सकेन।

नेपालका ओपनरद्वय आशिफ शेख ७ रन र कुशल भुर्तेल २९ रनमा आउट भए। आशिफ र भुर्तेलबीच पहिलो विकेटका लागि ३.५ ओभरमा ३७ रनको साझेदारी गरे। यो विश्वकपमा नेपालको अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि नेपालका लागि सन् २०१४ मा सागर पुन र सुवास खकुरेलबीच ३६ रनको साझेदारी भएको थियो।

आसिफ डाउसनले क्याच गराए भने भुर्तेललाई विल ज्याकले कट एन्ड वाउल्ड गरे। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।  त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको जोडी जम्यो। ऐरीले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए। जसका कारणको नेपालको आशा बढेको थियो।

ऐरीले ४४ रन जोड्ने क्रममा २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यससँगै ऐरी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार प्रहार गर्ने नेपाली ब्याटर बने। ऐरीलाई साम कुरानले क्याच गराए। १५ ओभरमा रोहित आउट भएपछि अर्को ओभरमा कप्तान रोहित पनि ३४ बलमा ३९ रन बनाएर आउट भए।

रोहित र ऐरी आउट भएपछि आरिफ शेख र लोकेश बममा जिम्मेवारी पुग्यो। तर आरिफ शेख १८औं ‍ओभरमा १० रन जोडेर आउट भए। जोफ्री आर्चरलाई छक्का प्रहार गरे लगत्तैको बलमा उनी एज लाग्दा विकेट पछाडि समातिए।

तर यसै ओभरको पाँचौ र छैटौ बलमा लोकेश बमले आर्चरलाई दुई छक्का प्रहार गर्दैं खेललाई रोमाञ्चक मोडमा पुर्‍याइदिए। नेपाललाई अन्तिम दुई ओभरमा २४ रन चाहियो। १९औं ओभरमा नेपालले १४ रन लियोगुल्सन झा वुडबाट बोल्ड भए।

अन्तिम ओभरमा नेपाललाई १० रन चाहियो। पहिलो बलमा साम कुरानलाई लोकेश बमले कुनै रन लनि सकेनन्। दोस्रो बलमा बमले एक रन लिए। तेस्रो बलमा करण केसीले एक रन मात्र लिन सके। चौथो बलमा लोकेशले दुई रन लिए। तर पाँचौ बलमा उनले फेरि रन लिएनन्। रनका लागि दौडिए पनि करण रोकेका थिए। अन्तिम बलमा छक्का चाहिदा बमले १ रन मात्र प्रहार गर्न सके। बमले २० बलमा ४ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाए।

बलिङमा इंग्ल्यान्डका डाउसनले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो।

फिल साल्टलाई डेब्यू खेलाडी शेर मल्लले एक रनमा आउट गरेपछि ब्याटिङमा आएका बेथेलले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। बेथेल १४औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच भएपछि नेपाललाई राहत मिलेको थियो। उनी आउट हुँदा इंग्ल्यान्डले १२८ रन जोडिसकेको थियो।

त्यसअघि ड्रिम डेब्यू गर्ने क्रममा शेरले आफ्नो पहिलो स्पेल लिएर दोस्रो ओभरमा आउदा पहिलो बलमै साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराएका थिए। पहिलो पटक राष्ट्रिय टोलीमा परेका मल्लले टी-२० विश्वकपमा डेब्यू गर्दा पहिलो बलमै विकेट लिन सफल भए।

त्यसपछि जोश बटलरलाई पाँचौ ओभरमा नन्दन यादवले  विकेटकिपर आसिफ शेखबाट क्याच गराएका थिए। टम ब्यान्टन २ रनमा सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा परे। उनले रिभ्यू गरे पनि सफल भएन। बेथेल आउट भएको एक ओभरपछि साम कुरालाई ऐरीले २ रनमा आउट भएका  थिए।

कप्तान ह्यारी ब्रुकले पनि इंग्लिस इनिङलाई गति दिए। १९औं ‌ओभरमा नन्दन यादवको बलमा शेर मल्लबाट क्याच भएका ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन बनाए। अन्तिम ओभरमा तीन छक्का प्रहार गरेका विल ज्याक्सले १८ बलमा ३९ नटआउट रन बनाए।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेको नाममा १-१ विकेट रह्यो। ऐरी नेपालका लागि टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर पनि बने। उनले सोमपाल कामीको नाममा रहेको ७ विकेटलाई पछि पार्दै विश्वकपमा आफ्नो विकेट संख्या ८ पुर्‍याए। अन्तिम ओभरमा करण केसीले जोफ्रा आर्चरलाई रनआउट गरे पनि विल ज्याक्सबाट तीन छक्का ब्यहोरेका थिए।

यस्तै रोहित पौडेल विश्वकपमा नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बने। उनले पारस खड्काको नाममा रहेको ४ खेलको कीर्तिमान तोडेका हुन्। अब नेपालले दोस्रो खेल इटालीसँग माघ २९ गते खेल्नेछ। यस्तै तेस्रो वेस्ट इन्डिजसँग फागुन ३ र अन्तिम खेल फागुन ५ मा स्कटल्यान्डससँग खेल्नेछ। तीनै खेल मुम्बईमा नै हुनेछन्।