काठमाडौं, २६ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको १३औँ दिनमा जिम्मा जमानीमा रिहा भएका छन् । ओली आज रिहा भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैत मा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओली पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।
