रसुवा बाढीपछि सुरुङ उद्धारमा ढिलाइ हुनुको कारणबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण

by cityhalkhabar
12 views

काठमाडौं, १७ भदौ – प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ हुनुको कारण घटना असामान्य प्रकृतिको हुनु रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वमा सुरुङमा पहिरो गएर थुनिँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञता भए पनि रसुवाको घटना फरक भएको बताए। उनका अनुसार सुरुङभित्र पहिरो मात्र नभई बाढी र हिलो माटो प्रवेश गरेर थुनिएकाले यस्तो अवस्था व्यवस्थापन गर्ने विशेषज्ञता नेपालसँगै अन्य मुलुकमा पनि सीमित रहेको छ।

मौसम, भौगोलिक अवस्था र हिलो सुक्नुपर्ने अवस्थाका कारण उद्धार कार्य थप कठिन भएको प्रधानमन्त्री शाहको भनाइ छ। सुरुङ पुरिएको स्थानमा धेरै स्काभेटर लैजाँदैमा काम तीव्र नहुने भन्दै उनले एउटै सुरुङमा एकपटकमा एउटा मात्रै स्काभेटरले काम गर्न सक्ने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीलाई आलोचना गर्नुको सट्टा प्रोत्साहन गर्नुपर्ने बताए। उनले भने, ‘गुगल गरेर र एआईलाई सोधेको भरमा मात्रै हुँदैन।’

बाढीका कारण भोटेकोशी–त्रिशूली करिडोरका आठवटा सञ्चालनमा रहेका जलविद्युत आयोजनाको २८१ मेगावाट उत्पादन प्रभावित भएको र निर्माणाधीन चार आयोजनाको ३८८ मेगावाट क्षमतामा क्षति पुगेको प्रधानमन्त्रीले जानकारी दिए।

उनका अनुसार बाढीबाट कुल ४ हजार ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो। वैकल्पिक प्रसारण व्यवस्थामार्फत नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत सेवा पुनः सञ्चालनमा आएको उनले बताए।