पुर्जीबिना नै पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

by cityhalkhabar
5 views

काठमाडौं, ११ असोज – पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति पक्राउ गरेको हो ।

उनीविरुद्धको कसुर भने खुलाइएको छैन । उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।

जबरालाई पक्राउपछि काठमाडौंकै एक प्रहरी कार्यालयको हिरासतमा राखिएको स्रोतले जनाएको छ । अपराध अनुसन्धान कार्यालय, टेकुको हिरासतमा उनी छैनन् ।

राति अकस्मात् आएको मौखिक आदेशपछि जबरा पक्राउ परेका हुन् । अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी खड्का कार्यालय बाहिर भएकै समयमा आदेश आएपछि उनलाई पक्राउ गर्न खड्का आफैं जानुपरेको स्रोतले जनाएको छ ।

को हुन् चोलेन्द्र शमसेर जबरा ?

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत पेशा गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । त्यसबेला संसदीय सुनुवाइ समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए । तर पछि, उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बनेका थिए ।

उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए । उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए ।