बागलुङ, – अविरल वर्षापछि गएको पहिरोमा पुरिएर बागलुङमा एकै परिवारका चारजनाको ज्यान गएको छ। जिल्लाको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा श्यामकुमारी विक र उनका तीन छोरा मनोज विक, मुकेश विक तथा निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
पहिरोले घर पूर्ण रूपमा पुरिएपछि स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो। घटनास्थलबाट चारै जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ।
लगातारको वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको छ। स्थानीय प्रशासनले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
घटनापछि मृतक परिवारप्रति स्थानीयवासी तथा जनप्रतिनिधिहरूले गहिरो दुःख व्यक्त गरेका छन्। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
