पलेशालाई कांग्रेसले गर्‍यो नगद ५ लाखसहित सम्मान

by cityhalkhabar
10 views

काठमाडौं – नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोबाट कीर्तिमानी कास्यपदक जित्न सफल पलेशा, प्रशिक्षक कविराज नेगी लामा र सहभागी भरत महतालाई सम्मान गरेका हो ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन् । प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ ।

पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

टोलीलाई बीपीनगर सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली छोरी पलेशाले पारालिम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको धारणा व्यक्त गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।

उनले पलेशालाई बधाइ दिँदै आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना दिए । उनले खेलकुदको विकासका लागि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति देउवाले पलेशाका परिवार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, राष्ट्रिय पारालिम्पिक कमिटी– नेपाललाई पनि धन्यवाद व्यक्त गरे ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउँदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।

कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुद मार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको बताउँदै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र महत्वपूर्ण क्षेत्र खेलकुद भएको बताए । उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नु पर्ने बताउँदै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताए ।