खगेन्द्र सुनारमाथि रास्वपाको एक्सन, छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक

by cityhalkhabar
6 views

काठमाडौँ, २८ असोज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की र शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर रूपमा लिइएको उल्लेख छ।

पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ।

रास्वपाले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।

कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै पार्टीले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानून तथा विधानबमोजिम थप कदम चाल्ने स्पष्ट पारेको छ। आरोप पुष्टि भएमा राजनीतिक संरक्षण नदिने प्रतिबद्धतासमेत पार्टीले जनाएको छ।