काठमाडौँ – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले हालसम्म वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट मुक्त हुन नसकेको बताएकी छन्। राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले अर्थतन्त्रमा केही सुधारका संकेत देखिए पनि कर्जा प्रवाहमा अपेक्षित सुधार नदेखिँदा समस्या कायमै रहेको औँल्याइन्।
उनका अनुसार उच्च तरलता र घट्दो ब्याजदरका बाबजुद पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार नहुनु, आन्तरिक मागमा सुधार नआउनु, पुँजीगत खर्च सन्तोषजनक रूपमा नबढ्नु र सञ्चालनमा रहेका परियोजनाहरु समयमा सम्पन्न नहुनु जस्ता समस्याले वित्तीय क्षेत्रमा चुनौती थपिएको छ।
ढुंगानाले आन्तरिक अर्थतन्त्रमा संरचनागत र व्यवस्थापनसम्बन्धी सुधारलाई तत्कालीन आवश्यकता भएको बताउँदै, यी पक्षमा चाँडो सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याइन्।
विश्वव्यापी परिस्थिति जस्तै अमेरिकाको भन्सार र व्यापार नीतिहरू तथा रुस–युक्रेन युद्धजस्ता घटनाले नेपालजस्ता मुलुकका लागि मुद्रास्फीति नियन्त्रण, वैदेशिक सहायता प्रवाह र बाह्य क्षेत्र व्यवस्थापनमा थप चुनौती निम्त्याएको उनले उल्लेख गरिन्।
यद्यपि, उनले नेपालले वित्तीय पहुँच विस्तार र डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा उल्लेखनीय उपलब्धि हासिल गरेकोमा सकारात्मक संकेत देखिएको बताइन्। साथै, अर्थतन्त्र विस्तारसँगै कर्जा प्रवाहलाई सन्तुलित रूपमा बढाउने जिम्मेवारीसमेत रहेको उनले स्मरण गराइन्।