दमौलीको मादी पुलबाट जिप खस्दा तीन जना युवकको ज्यान गयो

by cityhalkhabar
8 views

काठमाडौं, – तनहुँको व्यास नगरपालिकामा गएराति भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत व्यास-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा दुर्घटना भएको हो ।

ग२च ५७६० नम्बरको जिप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा पुलको रेलिङ तोडेर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिपमा पाँच जना सवार थिए ।

दुर्घटनामा व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरूको मृत्यु उपचारका क्रममा दमौली अस्पतालमा भएको हो ।

अन्य दुई घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ । अर्का घाइतेको उपचार दमौली अस्पतालमै भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार गरिएको थियो ।