विश्वकप लिग-२, नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हरायो

by cityhalkhabar
0 views

काठमाडौं, कप लिग-२ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको छ । नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा सजिलै पार गर्‍यो ।

नेपालको जितमा आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७८ रनको उत्कृष्ट योगदान दिए । दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन जोडेर जित सुनिश्चित गरे भने कप्तान रोहित पौडेल २३ रनमा रनआउट भए । ओपनिङमा कुशल भुर्तेलले २५ तथा आसिफ शेखले १९ रन बनाए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरभन्दा एक बलअघि नै २२५ रनमा पूरै टिम गुमायो । नोहा कोर्सले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवार्डसले ४६ रनको योगदान दिए । विक्रमजित सिंहले ३८ तथा ज्याक लायनले २७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिएर विपक्षी टिमलाई दबाबमा राखे ।

यो लगातार दोस्रो जितसँगै नेपालले १४ खेलमा चार जित हासिल गर्दै कुल १० अंक बनाएको छ । नेपाल तालिकाको सातौं स्थानमा यथावत छ ।