सप्तरीमा मध्यरातमा डाँकाको क्रुरता : घरधनीको हत्या, नगद र गहना लुटपाट

by cityhalkhabar
3 views

सप्तरी, – सप्तरीको सुरुङ्गा नगरपालिकामा शनिबार मध्यरातमा भएको डकैती घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । डाँका समूहले लुटपाटको क्रममा प्रतिकार गर्दा घरधनीमाथि गोली र धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

घटना सुरुङ्गा नगरपालिका वडा नम्बर ८ निवासी कान्तलाल चौधरीको घरमा राति करिब १ बजेतिर घटेको हो । सप्तरी प्रहरीका अनुसार, अपरिचित हतियारधारी समूह लुटपाटकै उद्देश्यले घरभित्र प्रवेश गरेको थियो । धनमाल जोगाउन चौधरीले प्रतिकार गर्न खोज्दा डाँकाहरूले उनीमाथि निर्ममतापूर्वक आक्रमण गरेका थिए । आक्रमणमा परी घरधनी कान्तलाल चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले पुष्टि गरेको छ ।

चौधरीलाई बचाउन दौडिएका छिमेकी रामाकान्त चौधरी पनि डाँकाहरूको निशानामा परे । डाँका समूहको आक्रमणबाट उनी गम्भीर घाइते भएका छन् र उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार, डाँका समूहले घरबाट अन्दाजी ५ तोला सुन, २ किलो चाँदी र केही नगद समेत लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक चौधरीको मृत्यु गोली लागेर भएको हो वा धारिलो हतियारको चोटका कारण, सो विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।